नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै अन्तरिम सरकारप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन सार्वजनिक नगर्दा अनेक आशंका र उपशंका जन्मिएको बताएका छन्।
प्रतिवेदन सार्वजनिक गर्न के कारणले रोकिएको हो भन्ने प्रश्न उठाउँदै महामन्त्री पौडेलले सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ ।
अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।
नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु ।