चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बिहान करिब २ बजे बुढानिलकण्ठ क्षेत्रबाट गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।
कर्मालाई नियन्त्रणमा लिन खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि तीन राउड गोली प्रहार गरिएको थियो । घाइते अवस्थामा रहेका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको छ ।
घाइते तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने उनी यस अघि पक्राउ परी कैद भुक्तान गरिरहेको र जेनजी आन्दोलनमा फरार रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।