नेपाल सरकारले पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा यही साउन १४ गते क्याम्प २ बाट क्याम्प ३ मा जाने क्रममा गएको विनाशकारी हिम पहिरोमा परी आरोहीहरुको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा “निम्स दाइ” सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको आफूहरु सराहना गर्ने जनाएको छ ।
“दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको छ भने बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। साथै, आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको जानकारी गराइन्छ,” परराष्ट्र मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले यस दुःखद घडीमा दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । ब्रोडपीक हिमपहिरोमा निम्सदाइ सहित ६ जना नेपाली आरोहीसँगै ओमाका नदिरा, अमेरिकी गेइस, पाकिस्तानका सोहेल साखी र चिनका वाङ झोङको निधन भएको छ ।