सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ वन डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।
सचिव भट्टले केही दिन अघि एक सञ्चारमाध्यममा दिएको अन्तरवार्तामा मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुव गरिएको आरोप लगाएका थिए । उनले मुख्यमन्त्री शाहमाथि यस्तो आरोप लगाएपछि मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले सचिव भट्टविरुद्ध विद्युतीय अपराध सम्बन्धी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैललालीका अनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको पत्र अनुसार भट्टलाई नियन्त्रणमा लिइएको हो । मन्त्रालयले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रुपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरण अनुकूल नभएको भन्दै उनलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो ।
मुख्यमन्त्री शाहविरुद्धको अभिव्यक्ति निराधार, कपोकल्पित र चरित्र हत्या गर्ने मनसायले दिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालीरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमा आफूमाथि लगाइएको आरोपमा कुने सत्यता नरहेको दाबी गर्दै भट्टमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।