राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।
आज बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष लाई समानुपातिक सांसदमा सिफारिस गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार खस आर्यबाट १७m आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।
सचिवालयले जिम्मेवारी दिएका कर्मचारी र सचिवालय सदस्यहरुबाट आज नै तोकिएको समयमा निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको नाम पठाइने उनले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगले पार्टीले सिफारिस गरेका नामावली रुजु गरेर एप्रुभ गरेपछि मात्रै समानुपातिक सांसदको नाम सार्वजनिक हुनेछ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।