विश्व बैंकले नेपाललाई ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
नेपालमा वायु प्रदूषण नियन्त्रण र वायु गुणस्तर व्यवस्थापन प्रणाली सुदृढ बनाउन विश्व बैंकले ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।
‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’ अन्तर्गत औद्योगिक तथा व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक कणको उत्सर्जन घटाउने लक्ष्य राखिएको छ। परियोजना मुख्यतया काठमाडौं उपत्यका, तराई र पहाडी फेदीका उच्च प्रदूषण भएका क्षेत्रमा लागू हुनेछ।
विश्व बैंकका अनुसार वायु प्रदूषणका कारण स्वास्थ्य खर्च र उत्पादकत्वमा आएको गिरावटले नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी असर परेको छ।
परियोजनाले उद्योगहरूलाई सहुलियत ऋण र प्राविधिक सहयोग प्रदान गर्दै स्वच्छ उत्पादन र दिगो विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।