रेखा थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘माया भनेकै यस्तो होला’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ ।
‘दिया एण्ड अमु फिल्मस्’ प्रालिले भदौ २६ मा फिल्म प्रदर्शन नहुने जनाएको छ । भोटेकोशी बाढीको असहज परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
निर्माता पक्षले आज एक विज्ञप्ति जारी गर्दे ‘माया भनेकै यस्तो होला’ अब तिहार पर्वको अवसरमा कात्तिक २० गते शुक्रबारदेखि प्रदर्शन गर्ने जानकारी दिएको हो ।
“मुलुकको विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोली यस निर्णयमा पुगेको हो । देश दुःखीरहेको यस घडीमा मनोरञ्जनात्मक सामग्री प्रसारण गर्नु उचित नठानी हामीले यो निर्णय लिएका हौं,” निर्माता दिल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, प्रकाश श्रेष्ठ, जस्मिन श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता नवराज श्रेष्ठ रहेका छन् । ध्रुव लम्शालको पटकथा रहेको यस फिल्मले प्रेमकथा मार्फत् सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
सुदीप बरालको छायांकन र बनिश शाह, रामप्रसाद चौधरीले सम्पादन गरेको ‘माया भनेकै यस्तो होला’ को कोरियोग्राफर गम्भीर विष्ट हुन् ।