निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मितिको ७२ घण्टा अघि देखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जानकारी गराएका हुन् ।
“निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भए बमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरुसहित सोही दफाको खण्ड ‘झ’ मा उल्लेख भएको निर्वाचन मिति भन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने,” प्रवक्ता भट्टराईद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले महत्वपूर्ण निर्देशन गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको हो ।