संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपाली कैदीलाई माफी दिएको छ ।
रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले यूएईमा कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यूएई सरकारप्रति आभारसहित कृतज्ञता व्यक्त गरेको छ ।
“पवित्र रमजानको शुभ अवसरमा १२८ (एक सय अठ्ठाइस) नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल र संयुक्त अरब इमिरेट्स बीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रदर्शनको रूपमा मानवीय आधारमा क्षमाको यस प्रकारको कार्यलाई मन्त्रालयले उच्च मूल्याङ्कन गर्ने जनाइएको छ ।
नेपाल सरकारको आग्रहमा अबुधाबीस्थित नेपाल दूतावासको समन्वयपछि आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।