गृहमन्त्री सुदन गुरुङ र नेपालका लागि जापानका राजदूत तोरु मयदाबीच भेटवार्ता भएको छ ।
राजदूत मयदाले बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर मन्त्री गुरुङसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राजदूत तोरुले गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्धका विविध पक्षमा छलफल भएको जनाइएको छ ।
जापान सरकारले नेपालको आर्थिक, सामाजिक विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगको चर्चा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा संवाद भएको छ ।
गृहमन्त्री गुरुङले निर्माणधिन नागढुङ्गा टनेल मार्ग लगायतका परियोजनाका लगायतका पूर्वाधार विकासमा जापानको सहयोगको प्रसंशा गरे । यस्ता आयोजनाहरुले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले उल्लेख गरे ।
भेटका क्रममा विपद् जोखिम न्यूनिकरण तथा नेपाल विपद् व्यवस्थापन सम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्ने बारे छलफल भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृहमन्त्रीले जापानमा रहेका नेपाली नागरिकहरुप्रति जापानी सरकारले अपनाएको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । जवाफमा राजदूत तोरुले नेपालीहरु जापानी समाजमा सहज रुपमा समाहित भई प्रभावकारी योगदान पुर्याएको बताउँदै नेपाल–जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित बनाउन जापान प्रतिबद्ध रहेको उल्लेख गरे ।