Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

देउवाको प्रष्टिकरण : मेराबारे भ्रम छरियो, समयक्रमसँगै यथार्थ खुल्दै जानेछ

बुधवार , चैत्र २५, २०८२

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवार र सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएका छन् । 

देउवा दम्पत्तिविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् देउवाले आफूविरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी सञ्चारमाध्यमबाट पाएको भन्दै उनले यस्तो बताएका हुन् । 

कानून बमोजिम सार्वजनिक पदमा रहँदा सम्पत्ति विवरण सम्बन्धित निकायलाई बुझाउँदै आएको सबैमा भन्दै उनले आफ्नो जीवन एउटा खुल्ला किताब भएको छ। 

विधिको शासन, शक्ति विभाजन, स्वतन्त्र न्यायपालिका, पारदर्शिता र जिम्मेवार राज्य निकायमा आफ्नो विश्वास अटल रहेको भन्दै देउवाले दीर्घकालीन चिकित्सा उपचार को लागि हाल आफू बिदेश मा रहेको जानकारी गराएका छन् । 

गलत सूचना अभियान चलाइरहेको प्रति विश्वास नगर्न भन्दै देउवाले यथार्थ समय अनुसार खुल्ने बताएका छन् । 

सम्पत्ति शुद्धिकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको समाचारपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

दउवाले सामाजिक सञ्जालमा लेखेका छन्ः 

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, 
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । 
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ । 
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा

 

सम्बन्धित समाचार