Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

हप्तामा २ दिन सार्वजनिक विदा दिनेसहित यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णय

आइतवार , चैत्र २२, २०८२

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले २३ चैत्र (भोली) बाट लागू हुने गरी हप्ताको २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

पेट्रोलियम पदार्थमा उत्पन्न असहजताका कारण उक्त निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । साथै शैक्षिक संस्था बाहेकका कार्यालयको  समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । 

त्यस्तै मन्त्रीपरिषद् बैठकले एसियाली विकास बैंक र विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर बराबरको सहुलियत पूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । 

हेर्नुहोस् यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः 

  • डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
  • दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
  • नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
  • राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।
  • पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।
  • शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।
  • डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
  • आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।

 

सम्बन्धित समाचार