जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले काठमाडाैंबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले तनहुँको देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङलाई पक्राउ गरेकाे हाे ।
बाघको छाला बिक्री गरेको अभियोगमा केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका गुरुङ जेन-जी आन्दोलनमा कारागारबाट फरार रहेका थिए । गुरुङ बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना फैसला भई कागारार जीवन बिताइरहेका थिए ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई आज कलंकीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उनले बताए ।