रसुवाको भोटेकोशीमा गएको बाढीमा परी हालसम्म ७ सय ५२ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो सम्म बाढीमा बेपत्ता भएका मध्ये ७ सय ५२ जनाको शव फेला परहेको हो । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, तनहुँमा ३६, चितवनमा २५९, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा एक सय जनाको शव फेला परेको हो ।
प्राधिकरणले अझै २ हजार ५ सय २ जना सम्पर्क विहिन रहेको जानकारी दिएको छ । हालसम्म सुरक्षा कर्मीहरुले ८ हजार ७३० जनाको उद्धार गरेको र २३९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको र ती मध्ये केही डिस्चार्ज समेत भएको जनाइएको छ ।
उद्धारका लागि १९ हजार ८ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधवार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नेपालमा ठूलो धनजनको क्षती भएको छ । रसुवामा रहेका विभिन्न जलविद्युत केन्द्रको सुरुङमा फसेकाहरुको उद्धारको लागि भारतीय र चिनियाँ विज्ञ टोलीसहित नेपाली उद्धार टोलीले निरन्तर उद्धार कार्यको प्रयास जारी राखेको जनाइएको छ ।