पाकिस्तानको ब्रोड पीक हिमालमा आएको पहिरोमा परी बेपत्ता भएका १० जना पर्वतारोही मध्ये ३ जनाको शव फेला परेको छ ।
पाकिस्तानी उद्धार टोलीले नेपालका पुर बहादुर गुरुङ (युक्ता) सहित ओमानका आरोही नदिरा अहमद अब्दुल्लाह अल हार्थि र अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेको गिलगिट बाल्टिस्तानको सूचना विभागले जनाएको छ ।
तीनै जनाको शव हेलिकप्टरमार्फत् अस्पताल पुर्यााइएको र त्यहाँ उनीहरुको औपचारिक पहिचान र कानूनी प्रक्रिया अगाडी बढाइने जनाइएको छ ।
पाकिस्तानको काराकारोरम हिमशृङ्खला अन्तर्गत पर्ने ८ हजार ४७ मिटर उचाईमा रहेको विश्वको १२ औँ अग्लो ब्रोड पीक आरोहणको क्रममा बिहिवार बिहान करिब ९ बजे आसपासमा गएको हिमपहिरोमा परी विश्व प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) सहित १० जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका १० जना मध्ये नेपाली पर्वतारोही निम्स दाईसहित पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित ६ जना नेपाली आरोही हिमपहिरोमा परेका हुन् । त्यस्तै ओमाका नदिरा, अमेरिकी गेइस, पाकिस्तानका सोहेल साखी र चिनका वाङ झोङ हिम पहिरोमा बेपत्ता भएका हुन् ।
पाकिस्तानी उद्धार टोलीले हिजो दिउँसो उद्धार कार्य जारी राखेकोमा तीन जनाको शव अस्पताल पुर्याएको र आज बिहान देखि बेपत्ता अन्य आरोहीहरुको खोजी कार्य जारी राखेको जनाइएको छ । उद्धार कार्यमा समन्वय र सहयोग गर्न नेपाली उद्धार टोली पनि हिजो नै पाकिस्तान पुगिसकेको छ ।