Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

वैश्विक चुनौतीको सामना गर्न सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्र मन्त्री खनाल

शनिवार , चैत्र २८, २०८२

परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तन समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खला अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारी आवश्यक भएको बताएका छन् । 

मौरिससमा जारी नवौँ हिन्द महासागर सम्मेलनमा उनले मध्यपूर्व द्वन्द्वबाट नेपालसहित विश्व प्रभावित भएको र एक नेपालीको मृत्यु तथा केही घाइते भएको जानकारी दिए ।  त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षालाई प्राथमिकता दिइएको उनको भनाई रहेको थियो । 

“पश्चिम एसियामा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो,” उनले भने । 

मन्त्री खनालले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको उल्लेख गर्दै हिमाल र महासागरको भविष्य परस्पर सम्बन्धित रहेको बताए । साथै, उनले नेपाल संवादको साझेदार र भूपरिवेष्ठित राष्ट्रहरूको आवाजका रूपमा पहाड–महासागरबीच सेतु बन्न तयार रहेको धारणा राखे । 

नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेको र यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्री खनालले भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताए ।

सम्बन्धित समाचार