पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशभर सुरक्षा निकाय सतर्क अवस्थामा रहेको जनाएको छ।
विशेषगरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था सामान्य रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
सुरक्षा निकायका अनुसार हाल केही स्थानमा सानो संख्यामा मानिसहरू जम्मा भए पनि समग्र स्थिति नियन्त्रणमै रहेको छ। “अहिले सुरक्षा अवस्था सामान्य नै छ, तर सम्भावित परिस्थिति सामना गर्न हामी पूर्ण तयारीमा छौं,” एक अधिकारीले भने ।
काठमाडौं उपत्यकाभित्र मात्रै करिब ११ हजार प्रहरी परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। आवश्यकता अनुसार प्रहरी परिचालन गरिने र स्थिति अनुसार व्यवस्थापन गरिने जनाइएको छ।
सुरक्षा निकायले जुनसुकै परिस्थिति आए पनि त्यसलाई नियन्त्रणमा लिन सक्षम हुने गरी तयारी गरिएको स्पष्ट पारेको छ। साथै, सम्भावित गतिविधिलाई ध्यानमा राख्दै निगरानीसमेत बढाइएको जनाइएको छ।
ती सुरक्षा अधिकारीले भने, “अहिले सुरक्षा अवस्था सामान्य नै छ । काठमाडौं उपत्यका र यसका मातहतमा हामी ११ हजार प्रहरी छौं । आवश्यकता अनुसार यसको परिचालन गर्छौं । जस्तो सुकै परिस्थिति भए पनि त्यसलाई ट्याकल गर्न सक्ने गरी हाम्रो सुरक्षा अवस्था र सतर्कता तयारी छ र कस्तो किसिमको परिस्थिति सिर्जना हुन्छ । त्यही अनुसरको तयारी र परिचालन हाम्रो हुन्छ ।”