कात्तिक कृष्ण त्रयोदशिका दिन मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मिठो-मीठो चिजबिज खाना दिएर मनाइँदैछ ।
सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस भनेर आजका दिन कागलाई पूजाआराधना सहित मीठो-मीठो खानेकुरा दिएर खुसी बनाइन्छ । लोग व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलन रहेको छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा- १ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमान ढोकास्थित कागेश्वरी मनोहरा मन्दिरमा पनि विशेष पूजाआजा गरिन्छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शुक्रबार देखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ ।
यम दीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो ।
यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व शुक्रबार नै मनाइएको छ । यसदिन गरगहना तथा भाडाँकुडाँ किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।