रणवीर कपुर अभिनित फिल्म ‘रामायण’ ले पहिलो दिन नै ६४.८५ करोड भारुको नेट कलेक्सन गरेको छ ।
बलिउड मिडिया अनुसार यो सन् २०२६ को दोस्रो ठूलो हिन्दी ओपनिङ बनेको छ । फिल्मले सबै भाषा जोडेर ७७.५० करोड भारुको ग्रस कलेक्सन गरेको छ । यो फिल्म प्रभाषको आदिपुरुष भन्दा पछि रहेको छ ।
आदिपुरुषले पहिलो दिनमै ८६.७५ करोडको ओपनिङ गरेको थियो । ‘रामायण’ देशभरका २५ हजार २ सय शोमा रिलिज भएको थियो । जसमा हिन्दी भाषाको योगदान सबैभन्दा बढी रहेको छ ।
हिन्दी संस्करणले २०,६७८ शोमार्फत ४७.५० करोड भारु नेट कलेक्सन गरेको छ । यसबाहेक, कन्नड भाषामा ७.२५ करोड, तेलुगुमा ६ करोड, तमिलमा २.६० करोड र मलायालम संस्करणमा १.५० करोड भारुको कमाइ दर्ता छ ।
ओपनिङ डेमा ‘रामायण’ ले शाहरुख खानको ‘पठान’ र रणवीर कपुरकै अघिल्लो फिल्म ‘एनिमल’ को पहिलो दिनको कलेक्सनलाई पछि पारेको छ । यद्यपि, यो सन् २०२६ को सबैभन्दा ठुलो ओपनर ‘धुरन्धरः द रिभेन्ज’ (१०२.५५ करोड नेट) भन्दा पछि रहेको छ । साथै,सन् २०२३ मा रिलिज भएको प्रभासको ‘आदिपुरुष’ को ओपनिङ डे रेकर्ड (८६.७५ करोड) पनि यो फिल्मले तोड्न सकेन ।
‘रामायण’ भारतीय सिनेमा इतिहासको सबैभन्दा ठुलो र महँगो प्रोजेक्ट फिल्म हो । फिल्मको कुल बजेट करिब ४,००० करोड भारु बताइएको छ, जसमा फिल्मका दुवै भाग समावेश छन् ।
फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी माता सिता, रवि दुबे लक्ष्मण र केजीएफ फेम यश रावणको भूमिकामा छन् ।