Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते

प्रेस काउन्सिल सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपति समक्ष पत्रकार महासंघको माग

शुक्रवार , कार्तिक २१, २०८३

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ । 

सरोकारवाला पक्षसँग पर्याप्त छलफल नै नगरी अध्यादेश मार्फत् कानून ल्याउने प्रक्रिया लोकतान्त्रिक विधि र संविधानको मर्म विपरित भएको भन्दै महासंघले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो । 

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सहितको टोलीले शुक्रबार शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे जानकारी गराएको हो । 

भेटका क्रममा टोलीले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नै नगरी संसदलाई छलेर अध्यादेश मार्फत् कानून ल्याउनु लोकतान्त्रिक विधि र प्रक्रिया समक्ष मेल नखाने धारणा राखेको थियो ।

पछिल्लो समय समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेको बारे स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नगर्दै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाएको भन्दै संवैधानिक मर्मअनुसार आफ्‌नो विवेक प्रयोग गरिदिन राष्ट्रपतिसमक्ष महासंघले आग्रह गरेको छ । 
 
राष्ट्रपतिसँगको भेटमा महासंघले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति भएको स्मरण गराउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा नियमित विधायकी प्रक्रियालाई अवलम्बन गर्नुपर्ने धारणा राखेको छ ।

888453294_29021248650830562_108433487970697391_n.jpg

 

सम्बन्धित समाचार