भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –०१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालक ५१ वर्षीया गीता तिमल्सिनाको मृत्यु भएको छ ।
आज बिहान आँखा अस्पतालबाट आई बाटो क्रस गरी लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२-००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०४-००१ ख ००४५ नम्बरको ट्रक एक-आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका –०९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका –०५ टिकाथली बस्ने गीता तिमल्सिना गम्भीर घाइते भई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल, कौशलटार लगिएकोमा बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी काठमाडौंको शंकरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको खुल्न आएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट लगिएको र दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालक जिल्ला पूर्वी नवलपरासी, मध्यविन्दु नगरपालिका –०८ बस्ने ३० वर्षीय राजकुमार महत्तोलाई नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।