Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते

यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णय

मंगलवार , कार्तिक १८, २०८३

सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यसैगरी, बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवम् प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र 'मल नियन्त्रण आदेश, २०८३' स्वीकृत गर्ने निर्णय भएको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा तुर्किए (टर्की) को आन्ताल्यामा २०८३ कात्तिक २३ देखि मङ्‌सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप थर्टी वान) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म र त्यस्तो जग्गाको बाँडफाँट गरी कारबाहीको टुङ्गो लगाइसक्नुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको छ।

साथै, प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

सम्बन्धित समाचार