पूर्व राष्ट्रपति एवम् नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् ।
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’ मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुननिर्माण थिम रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही २३ देखि २५ अक्टोबर सम्म आयोजना हुँदैछ । सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अथितिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
उक्त सम्मेलन अन्तर्गत २४ र २५ अक्टोबरमा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ ।
फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रीत अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशिल मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका मुलुकको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।
त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।