अष्ट्रेलियाका क्रिकेटर डेभिट वार्नरले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने भएका छन् ।
गोर्खाजले आज सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । यो सँगै वार्नर तेस्रो संस्करणको एनपीएल खेल्न नेपाल आउने भएका हुन् ।
विश्व क्रिकेटका चर्चित ब्याटर वार्नरको आगमनसँगै एनपीएलको अन्तर्राष्ट्रिय चर्चा थप बढ्ने देखिएको छ ।
आक्रमक ब्याटिङका लागि चर्चित वार्नरले लामो समयदेखि अष्ट्रेलियन क्रिकेट टोलिमा ओपनरको रूपमा योगदान दिँदै आएका थिए । अस्ट्रेलियन क्रिकेटलाई उनले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण सफलता दिलाउन पनि योगदान गरेका छन् ।
वार्नर अस्ट्रेलियाबाट दुईपटक एकदिवसीय विश्वकप जित्ने टोलीका सदस्य हुन् । उनले २०२३ मा अस्ट्रेलियाले जितेको विश्व टेस्ट च्याम्पियनसिप तथा एकदिवसीय विश्वकपमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । सीमित ओभरको क्रिकेटमा उनको आक्रामक शैली र अनुभवलाई विशेष रूपमा प्रभावशाली मानिन्छ ।
फ्रेन्चाइज क्रिकेटमा समेत वार्नरको लामो अनुभव रहेको छ । उनले आईपीएल, बिग बास लिग लगायत विश्वका विभिन्न टी- २० फेन्चाइज प्रतियोगिता खेलिसकेका छन्।
वार्नरको अनुभव काठमाण्डू गोर्खाजका लागि मैदानमा मात्र नभई टोलीका अन्य खेलाडीका लागि पनि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ गोर्खाजले वार्नरलाई टोलीमा भित्र्याएसँगै एनपीएलमा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको आकर्षण थप बढेको छ ।
वार्नरको अनुभवले नेपाली क्रिकेट समर्थकलाई विश्वस्तरका अनुभवी खेलाडीलाई घरेलु मैदानमा प्रत्यक्ष हेर्ने अवसर समेत प्रदान गर्नेछ ।