परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ ।
आइतबार मन्त्री ह्युन सहियको टोलीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेको हो भेटका अवसरमा दुवै परराष्ट्रमन्त्रीहरूले यही भदौ १० गते रदुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यहर र गणतन्त्र कोरियाका हराएका नागरिकहरूको खोजी कार्यको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खनालले नेपालका बाढी प्रभावित क्षेत्रहरूमा अन्तर-निकाय द्रुत प्रतिक्रिया टोली तथा कोरिया विपद् राहत टोली पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्नुको साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराइएकोमा पनि प्रशंसा गरे।
उनले नेपाल सरकारको आगामी प्राथमिकताअन्तर्गत उत्थानशील, टिकाउ र अझ राम्रो पूर्वाधार निर्माण गर्ने विषयबारे चर्चा गर्दै उनले गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने आशा व्यक्त गरेका थिए ।
गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्न गणतन्त्र कोरिया सरकार तत्पर रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरूले बेहोर्नुपरेको क्षतिका लागि विश्व समुदायको ऐतिहासिक दायित्व रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका असरहरूबारे विशेष गरी 'कोप' जस्ता विश्वव्यापी मञ्चहरूमा अन्य मुलुकहरूलाई सचेत गराउन नेपाल र गणतन्त्र कोरियाले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउनुपर्ने आर्थिक सहयोगका सम्बन्धमा गणतन्त्र कोरियाले पनि आफ्नो आवाज उठाउने बताए।
दुवै मन्त्रीले लामो समयदेखिको दुइदेशबीचको मित्रता, आपसी विश्वास र सहयोगमा आधारित द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तथा नयाँ उचाइमा पुर्याउन घनिष्ठ रूपमा काम गरिरहने प्रतिबद्धता दोहोर्याए।