रसुवाको भोटेकोशीमा आएको बाढीमा परि ज्यान गुमाएकाहरुको शव व्यवस्थापन भन्दै सरकारले जमिनमुनी खाल्डो खनेर पुरेपछि शव गाड्न नहुने भन्दै सरकारलाई सुझाव दिएका कोशी प्रदेश सरकारका सचिव कोषहरि निरौलालाई सरकारले रसुवाको टिमुरेमा सरुवा गरेको छ ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा सचिव निरौलाले फोकटको सल्लाह भन्दै सरकारलाई सुझाव लेखेका थिए । त्यसको भोली पल्टै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर सचिव निरौलालाई बाढी प्रभावित क्षेत्र टिमुरेमा खटाउने निर्णय गरेको हो ।
रसुवा बाढीमा परि आज दिउँसो सम्म ७ सय ८८ जनाको मृत्यु भैसकेको छ । यस क्रममा सरकारले उद्धारसँगै शव शंकलन गरिरहेको छ । कोभिडको समयमा आफू मोरङ प्रमुख जिल्ला अधिकारी रहेको र त्यो बेला शव व्यवस्थापनको काम गरेको भन्दै आफ्नो अनुभव लेखेका थिए ।
आफ्नो धर्म, परम्परा अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क राख्दै निरौलाले शव गाड्न नहुने विचार राखेकै भोलीपल्ट उनलाई काजमा रसुवाको टिमुरे खटाउने निर्णय गरिएको हो ।
निरौला कोशी प्रदेशको आर्थिक मामिला तथा मन्त्रालयको सचिवको रुपमा कार्यरत थिए । उनले शव व्यवस्थापन बारे सरकारलाई दिएको सुझाव भने हाल फेसबुकबाट हटाइसकेका छन् ।