पाकिस्तानको ८,०४७ मिटर अग्लो 'ब्रोड पिक' हिमालको आरोहणका क्रममा हिमपहिरो जाँदा विश्व प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा "निम्सदाइ" सहित कम्तीमा १० जना आरोही बेपत्ता भएका छन्।
'अल्पाइन क्लब अफ पाकिस्तान' का अनुसार बेपत्ता हुनेहरूमा 'सेभेन समिट ट्रेक्स' का तीन, 'एलिट एक्सपेड' का तीन, 'इम्याजिन नेपाल ट्रेक्स' का दुई र दुईजना पाकिस्तानी उच्च-उचाइका गाइडहरू समावेश छन्।
बेपत्ता आरोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको र उनीहरुलाई पत्ता लगाउन हेलिकप्टरहरू परिचालन गरिएको जनाइएको छ ।
सम्पर्कविहीन हुनेहरूमा पुर्जा; 'एलिट एक्सपेड' का एक रुसी-अमेरिकी आरोही र एक शेर्पा; 'एसएसटी' का दुई शेर्पासँगै रहेका एक ओमानी आरोही; 'इम्याजिन नेपाल ट्रेक्स' का शेर्पासँगै रहेका एक चिनियाँ आरोही; र दुई पाकिस्तानी गाइडहरू रहेका छन् ।
'अल्पाइन क्लब अफ पाकिस्तान' ले बिहीबार हिमपहिरो गएयता आरोहीहरूसँग कुनै सम्पर्क हुन नसकेको पुष्टि गरेको छ। शिखर आरोहणको प्रयासका लागि 'क्याम्प २' बाट 'क्याम्प ३' तर्फ अघि बढिरहेको बेला उक्त टोली हिमपहिरोको चपेटामा परेको थियो।
'अल्पाइन क्लब अफ पाकिस्तान' का वरिष्ठ उपाध्यक्ष करार हैदरीले प्रसारक संस्थालाई बताएअनुसार, अधिकारीहरूले उद्धार कार्यको समन्वय गरिरहेका छन् र मौसम अनुकूल भएमा शुक्रबार बिहान हेलिकप्टर परिचालन गर्ने प्रयास गरिरहेका जानकारी दिएको पाकिस्तानी सञ्चार माध्यमले जनएका छन् ।
उक्त अन्तर्राष्ट्रिय अभियानमा पुर्जाको नेतृत्वमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी आरोही र पाँच नेपालीहरू सहभागी थिए । एक सदस्यको राष्ट्रियता रुसी-अमेरिकी रहेको अभियानका अधिकारीहरूले बताएका छन्।
अभियानका नेतृत्वकर्ता पुर्जा विश्वका अग्रणी उच्च-उचाइका पर्वतारोहीहरूमध्ये एक मानिन्छन्। सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरू छ महिनाभन्दा केही बढी समयमै आरोहण गरी तत्कालीन विश्व कीर्तिमान कायम गरेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए।
पुर्जाको पर्वतारोहण यात्रा सन् २०१२ मा सुरु भएको थियो । उनी सगरमाथा आधार शिविर सम्म पदयात्रामा गएका थिए र सुरुको योजना अनुसार फर्कनुको सट्टा हिमाल आरोहण गर्ने निर्णय गरेका थिए।