Oct 18 2026 | २०८३, कार्तिक २ गते

२०८३, कार्तिक २ गते

बडा दशैं

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ

शनिवार , कार्तिक १, २०८३

सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ।

समारोहमा प्रमुख अथिती एवम् नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो।

समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो।

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ।

समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ।

सम्बन्धित समाचार