Oct 13 2026 | २०८३, आश्विन २७ गते

२०८३, आश्विन २७ गते

सांसद खगेन्द्र सुनार सार्वजनिक कार्यक्रममा सहभागी हुन नपाउने, रास्वपाले सुरु गर्यो छानबिन

मंगलवार , आश्विन २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै सांसद सुनारमाथी पार्टीको अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको जानकारी दिएका छन् ।

अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको महामन्त्री आचार्यले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

सांसद सुनारले एक युवतीसँग आर्थिक लेनदेन र अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि त्यसबारे निष्पक्ष छानबिन गर्न रास्वपाले यस्तो कदम अगाडि बढाएको हो ।

"सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ। राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौं। 'कानुनभन्दा माथि कोही पनि हुँदैन' भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ। राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ। कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौं," महामन्त्री आचार्यद्दारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

FB_IMG_1791860322342.jpg

सम्बन्धित समाचार