असन्तुष्ट नेता–कार्यकर्तालाई कांग्रेसमा फर्काउनुपर्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काएर एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिले सोमबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टी निर्माणमा योगदान दिएका सबै नेता तथा कार्यकर्तालाई समेट्नु आजको आवश्यकता भएको बताएका हुन्।
कांग्रेस ठूला र पहुँचवाला नेताहरूको मात्र नभई गाउँगाउँमा बसेर संगठन निर्माणमा अहोरात्र खटिने सबै कार्यकर्ताको साझा पार्टी भएको उल्लेख गर्दै थापाले सबैको योगदानको उचित मूल्याङ्कन र आत्मसम्मानको रक्षा हुनुपर्नेमा जोड दिए।
“पार्टीभित्रका केही विषयमा असन्तुष्टि जनाउँदै टाढिएका साथीहरूलाई पुनः कांग्रेसमै फर्काएर जोड्नुपर्छ,” उनले भने।
सभापति थापाले पार्टी संगठन निर्माण र नेपाली समाजमा दिवङ्गत नेता गुरुङले पुर्याएको योगदानको स्मरण गर्दै उनीजस्ता निष्ठावान् तथा पुराना नेताहरूको त्यागलाई कांग्रेसले सधैँ सम्मान गर्ने बताए।
अन्नपूर्ण गाउँपालिकामा आयोजित शोकसभामा नेपाली कांग्रेसका स्थानीय तथा केन्द्रीय तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।