म्यानमारको एक बौद्ध गुम्बामा हवाई आक्रमण हुँदा १४ जनाको मृत्यु भएको छ। मानिसहरू ध्यान गर्न भेला भइरहेको समयमा सेनाले गरेको हवाई आक्रमणमा परी १४ जनाको मृत्यु भएको विद्रोही लडाकुहरूले बताएका छन्।
यो घटनामध्ये सागङको म्याउङ नगरमा भएको हो । बिहानीको समयमा भएको आक्रमणमा परी ११ पुरुष र तीन महिलाको मृत्यु भएको जनाइएको छ।
बौद्ध परम्पराअनुसार तीन महिनाका लागि ध्यानका लागि भेला भएका वृद्ध मानिसहरू आक्रमणको चपेटामा परेका हुन्। स्थानीय एक लडाकु समूहका अनुसार उद्धारको प्रयास भइरहेको बेला दोस्रोपटक आक्रमण भएकाले ठूलो मानवीय क्षति भएको हो।
यसबारे सेनाको धारणा भने तत्काल बुझ्न नसकिएको बताइएको छ। यद्यपि सेनाले भने विद्रोहीहरूलाई लक्षित गरी रुसी र चिनिया जेट प्रयोग गरी आक्रमण गर्ने गरेको विश्लेषकहरुको भनाई छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार सेनाले जानाजानी सर्वसाधारण र मठ मन्दिरलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाउँदै आएका छन्। यता म्यानमारको सरकारले भने यस्ता आरोपहरुलाई गलत र एकतर्फी भन्दै खण्डन गर्दै आएको छ।
सन् २०२१ मा आङ सान सुकीको नवनिर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमारमा गृहयुद्धमा फसेको छ। विगत पाँच वर्ष यता सेना र विद्रोही समूहहरूबीचको लडाईमा करिब १ लाख मानिसको मृत्यु भइसकेको अनुमान छ।
सन् २०२६ को सुरुमा सेनाले गराएको चुनावपछि मिन आङ ह्वाइनले राष्ट्रपतिको पद सम्हालेका छन्। उनले अन्तर्राष्ट्रिय मान्यता पर्याप्त कुटनीतिक प्रयास गरिरहेका छन् ।
भारत, चीन, थाइल्याण्ड लगायतका देशले उनलाई समर्थन जनाएका छन् भने रूस र बेलारुस सैन्य सरकारको प्रमुख सहयोगीका रूपमा रहेका छन्। प्रजातान्त्रिक विश्लेषकवादीहरूले यो चुनावलाई सैन्य शासन टिकाउने हतियार भन्दै विरोध गर्दै आएका छन् ।