नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको सुरुवात भाद्र शुक्ल द्धितियदेखि सुरु हुन्छ ।
इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष एवम् सह प्रा.डा.पुरुषोत्म भट्टले जानकारी दिए ।
रुख काट्ने साइत राती ८ः४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रही आएको उनले बताए । त्यस्तै लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८ः०५ बजे रहेको समितिले जनाएको छ ।
इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ । यसै दिन राष्ट्रपति लगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रही आएको उनले बताए ।
असोज १० गते शनिबार माथिल्लो टोलमा यात्रा गराइनेछ । असोज १३ गते मंगलबार महिलाले मात्र रथ तानेर नाचीयात्रा गरिन्छ । समितिका अनुसार यसै दिन राती ९ः२५ बजे लिङ्गो ढाल्ने साइत रहेको छ ।
लिङ्गो ढालेपछि राती नै राष्टाध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो रथयात्रा समापन हुन्छ ।