काठमाडौं
बिहीबार, भदौ २६, २०८२
मंगलबारको जेन–जीको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएको पाइएको छ ।
तथ्यांक अनुसार कैदी बन्दीमध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता जघन्य अपराधमा सजाय भोगिरहेका थिए । यसले समाजमा असुरक्षाको खतरा बढाएको सरोकारवालाको भनाइ छ ।फरारमध्ये कति पक्राउ परे र कति अझै बाहिर छन् भन्ने एकीकृत विवरण सम्बन्धित निकायसँग छैन । यस कारण वास्तविक अवस्थाबारे स्पष्ट जानकारी नआएको जनाइएको छ ।
सुरक्षा निकायको संयुक्त अभियानमा हालसम्म १ हजार ४५५ जना फरार कैदीबन्दीलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार पक्राउ परेकालाई सम्बन्धित कारागारमा पुनः पठाउने काम भइरहेको छ । तर, आफैं फर्किएका र पक्राउ परेकाबाहेक अझै पनि हजारौं कैदीबन्दी खुलेआम हिँडिरहेका छन् ।