दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीसहित दुई छोराछोरीको ह*त्या गरेका छन् भने एक अर्का छोरा गम्भीर घाइते भएका छन् ।
स्थानीय ३८ वर्षका अम्मर सलामी मगरले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, छोरा १२ वर्षाय तपेन्द्र सलामी, वर्ष ६ का मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीलाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइते सबैको अवस्था गम्भीर रहेको र उपचारका लागि एम्बुलेन्समार्फत नगर अस्पताल दुल्लु, दैलेखतर्फ पठाईएको थियो ।
अस्पतालमा चिकित्सकले परिक्षण गर्दा तपेन्द्र र करिश्मालाई बिहान ११:१० बजे मृत घोषणा गरेका थिए ।
मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते मिलनको उपचार भइरहेको छ ।
घटना गराउने अम्मर सलामी मगर र घटनामा प्रयोग भएको बन्चरो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।