श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेकी श्रीमती शिरान्थी राजापाक्षे भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेकी छन् ।
बालबालिकाको अस्पतालका लागि संकलित चन्दा रकम आफ्नो परोपकारी संस्था (च्यारिटी) मार्फत दुरुपयोग गरेको आरोपमा पूर्वप्रथम महिला शिरान्थीलाई पक्राउ गरिएको श्रीलंकाली सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकारले लामो समयदेखि रोकिएका भ्रष्टाचारसम्बन्धी अनुसन्धानहरू पुनः अघि बढाएको छ। यी अनुसन्धानहरू कुनै समय श्रीलंकाको राजनीतिमा झन्डै दुई दशकसम्म हाबी रहेको शक्तिशाली राजापाक्षे परिवारका सदस्यहरूसँग सम्बन्धित छन्।
पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेकी ७३ वर्षीया पत्नीलाई कोलम्बोमा पक्राउ गरी थप सोधपुछका लागि 'घुस वा भ्रष्टाचारसम्बन्धी आरोपहरूको अनुसन्धान गर्ने आयोग' (सीआइएबीओसी) को कार्यालयमा लगिएको थियो।
राजधानीस्थित राजापाक्षेको निवासमा पत्रकारहरूसँग कुरा गर्दै (सीआइएबीओसी) का एक अधिकारीले यो पक्राउ शिरान्थीको 'सिरिलिया साभिया फाउन्डेसन' सँग सम्बन्धित रहेको बताए ।