इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणमा परेका भारतीय पाइलट स्मित मच्छरको प्रशंसा गरेका छन् ।
उनले पाइलटले प्रतिकार गर्दै यात्रु र चालकदललाई सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताएका छन् । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका सह–पाइलटले मुख्य पाइलटमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो । त्यसपछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गरिएको थियो ।
विमानमा १७४ जना सवार रहेको र सबै सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ । नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै यात्रु र चालकदलले ठूलो दुर्घटना रोक्न भूमिका खेलेको बताएका छन् । उनले घाइते पाइलट मच्छरले असाधारण बहादुरी देखाएको भन्दै प्रशंसा गरेका छन् । भारतीय दूतावासका अनुसार घाइते पाइलटको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि फ्लाई दुबईले अनुसन्धान पूरा नहुँदासम्म इजरायलका लागि आफ्ना उडान स्थगित गरेको जनाएको छ ।
घटनाको कारण र सह–पाइलटको उद्देश्यबारे अनुसन्धान भइरहेको छ । घटनाका क्रममा विमान करिब १४ हजार फिट तीव्र गतिमा तल झरेको र यात्रु तथा चालकदलका सदस्यले ककपिटमा प्रवेश गरी सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताइएको छ ।
विमानमा रहेका यात्रुहरूले ककपिटनजिकै झगडा सुरु भएपछि आफूहरूले हस्तक्षेप गरेको बताएका छन् । इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ ।
रक्षामन्त्री इजरायल काट्जले पनि यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भनेका छन् । यद्यपि घटनाको उद्देश्य र प्रकृतिबारे अनुसन्धान जारी छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार विमानबाट सम्भावित अपहरणको संकेत आएपछि सेनाले लडाकू विमान परिचालन गरेको थियो । विमानमा रहेका यात्रुहरूले पनि आफूहरूले ठूलो अशान्तिको सामना गर्नुपरेको बताएका छन् ।
घटना इजरायलमा अक्टोबरको अन्त्यमा हुने निर्वाचनको केही साताअघि भएको हो । मंगलबार नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘सङ्केत’ रहेको बताएका थिए । रासस