Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

नेपालमा लगानी र व्यापार प्रवर्द्धन गर्न एनआरएनए र नेपाल चेम्बरबीच समझदारी

आइतवार , भाद्र ७, २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनए)  र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) बीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेम राज शर्मा र नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवालले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार दुवै संस्थाले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, निर्यातमुखी उद्योग तथा स्टार्टअपहरूलाई सहयोग गर्ने र संयुक्त रूपमा लगानी सम्मेलन तथा रोड–शोहरू आयोजना गर्नेछन्।

यसका साथै गैरआवासीय नेपालीहरूसँग रहेको सीप, प्रविधि र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्न तथा व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधार गर्न सरकारसँग संयुक्त पैरवी गर्ने सहमतिसमेत भएको छ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष शर्माले विश्वभर रहेका गैरआवासीय नेपालीको पूँजी र क्षमताका साथै दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्ने अभियानलाई प्राथमिकता दिइने बताए । उनले लगानीका क्षेत्रमा विद्यमान कानुनी र प्रशासनिक जटिलता हटाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै, नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवालले राम्रा नीतिहरू बनाएर मात्रै नपुग्ने भन्दै तिनको प्रभावकारी कार्यान्वयन र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने बताए । उनले एनआरएनएसँगको यो सहकार्यले लगानी भित्र्याउन र आर्थिक रूपान्तरणलाई गति दिन नयाँ अध्यायको सुरुवात गर्ने विश्वास व्यक्त गरे । 

 

सम्बन्धित समाचार