गलकोट। लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ । नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थालेका छन् ।
लामो समय बेलायतमा बसेका गलकोट नगरपालिका–३ हटियाका नरबहादुर भण्डारीले विगत ९ वर्षदेखि गलकोटमा आफ्नै उद्यम थालेका छन् । उनले गलकोट नगरपालिका–३ सिमखेतमा साढे पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस व्यवसाय गर्दै आएको छ ।
सिमखेतमा उनले २०६९ सालदेखि कृषि पेसा थालेको हो । पछि उनले रेष्टुराँ र पार्टी प्यालेस पनि सञ्चालन गरे । सुरुआतमा भण्डारी रोजगारीका लागि भारत गए । डेढ दशक भारतमा बिताएका उनी त्यहीँबाट केन्या पुगे । केन्यामा ११ वर्ष काम गरेका भण्डारी पुनः बेलायत फर्किए ।
तीन दशकको वैदेशिक यात्रा टुङ्ग्याएर भण्डारीले गाउँमै उद्यम थालेको छ । उनले रु दुई करोड ५० लाखको लगानी गरिसकेका छन् । श्रीमती लोक कुमारी, छोरा भगवान र बुहारी राधिकाको सहयोगमा भण्डारीले विभिन्न उद्यम गर्दै आएको छ । उनले तीन जनालाई रोजगारी प्रदान गरेका छन् । भण्डारीले थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा लिएको छ ।
‘पुष्प खेती गरेको छु, रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने सामग्री आफँै उत्पादन गर्छु’, उनले भने । वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नु परे पनि स्वदेशमा फर्केर परिवारसँग रमाउन पाउँदा आनन्द महसुस भइरहेको भण्डारी बताए ।
शुक्रबार, मङ्सिर २४, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत