काठमाडौं । आईसीसी टि–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ ।
ओमानको अल अमिरात मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २ सय १८ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक÷एक विकेट लिए ।
आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने सेमिफाइनल पुग्ने सम्भावना पनि बलियो बनेको छ ।
नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनको अविजित शतकीय इनिङ खेले भने दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए । उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए । आशिफपछि आएका कुशल मल्लले १२ रनमा आउट हुँदा लोकेश बमले भने अविजित ६ रन बनाए ।
कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे । यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो । साथै टी– २० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर पनि हो ।

कुशलको कीर्तिमान
कुशल टी २० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बनेका छन् । ओमानमा शनिवार भएको आइसीसी टी २० विश्वकप ग्लोबल छनोटमा उनले फिलिपिन्स विरुद्ध उक्त उपलब्धि हात पारेका हुन् ।
भुर्तेलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरे । उनले कुल ६१ बल खेल्ने क्रममा १३ चौका र एक छक्का हानेर १०४ रनमा अविजित रहे । ३२ बलमा उनले अर्ध शतक पूरा गरेका थिए । ओपनरका रूपमा आएका भुर्तेलले पूरा २० ओभर नै खेले ।
कुशलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् । योसँगै कुशलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा अर्धशतकको संख्या पनि पाँच पुर्याएका छन् । पारसले अन्तर्राष्ट्रिय टी–ट्वेण्टीमा चार वटा अर्धशतक प्रहार गरेका थिए ।
नेपालबाट पारस खड्का टी २० मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। सन् २०१९ मा उनले सिंगापुर विरुद्ध उनीहरूकै मैदानमा उक्त कीर्तिमान रचेका थिए । खड्काले ५२ बलमा अविजित १०६ रन बनाएका थिए ।
त्यस्तै ज्ञानेन्द्र मल्लले नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागका दौरान शतक प्रहार गरेका थिए । भुटान विरुद्धको खेलमा उनले ५५ बलमा १०७ रन बनाएका थिए ।