काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।
पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए । उनले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास दिलाए ।
रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।
चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने
चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ ।

नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो ।
कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्ध अगाडि बढाइने भएको छ । सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रगिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए ।
उनले भने, ‘चन्द्रगिरि र कोरियाली नगरपालिकाबीचको भगिनी सम्बन्धले सांस्कृतिक अनुभव आदानप्रदान गर्न नयाँ उचाइ प्राप्त गर्ने छ ।’